सेना पठाउन सकिँदैन भने कुकुर भएपनि पठाऊ, सीमा जोगाऊ (पुरा पढ्नुहोस)

भिडियो सहित हेर्नुहोस !
Advertisement
राजमाया पुतवार
२५० वर्ष देखि राष्ट्रप्रेमको नाममा गानाबजाना गरेर नेपाल कहिल्यै साम्राज्यवादको अगाडि झुकेन भन्नेर फुँइ गर्नेहरु आज हाम्रै सीमामा विदेशी सीमा सुरक्षाबल (एसएसबि) जवानले गोली हानेको बाट नेपाली नागरिक गोविन्द गौतम खबर मरेको खबर पत्रपत्रिकामा आउँदा पनि मुखमा बुझो लगाएर बसिरहेका छन् । अब थाहा भयो नेपालमा सेना राख्नु भनेको शिवरात्रीमा बढाँइ पड्काउनु, टुँडिखेलमा चटक देखाउनु र विदेशमा शान्ति सेनामा भर्ति गराउनु बाहेक केही होइन भन्ने ।
सकी नसकी आफ्नो इगोको लागि ब्रिटिश सेना सामु ढुंगामुढा बोकाएर लड्न पठाउने र त्यहाँ मरेकालाई वीर भनेर झुठो इतिहास लेखेकै भरमा नेपाल स्वतन्त्र हुँदैन । जुनसुकै सरकार होस् नेपालको सत्ताको बागडोर समात्नेले आफ्नो सरकार जोगाउन छिमेकी महाराष्ट्रहरुको तलुवा चाटेको इतिहास छ । कालापानी होस् वा खुर्दलोटन, नेपाली भूमिमाथि बलात्कार गराएरै यहाँका सत्ताहरु टिकिरेका छन् । सत्तामा नपुगुन्जेल भारतीय विस्तारवाद र बङ्कर युद्धका ठुलाठुला डिङ्ग हाँक्ने, सत्ता नजिक आयो भनेर दिल्लीमा चाकरी गर्न जाने अनि त्यहीमा पुगेपछि भारतलाई प्रभु मान्ने नेपालका सबै प्रमुख राजनीतिक दलहरुको हैसियत हो ।
यी दलहरु न प्रत्यक्ष रुपमा भारतको विरोधमा केही गर्न सक्छन्, न भारतलाई सम्मानको नजरले हेर्न सक्छन् । सबै जनताका अगाडि आएर भारत भनेको महाशत्रु हो भनेर भारतका विरुद्ध जनतालाई उचाल्ने अनि त्यही भारतीय राजदूत कहाँ गएर आफ्ना छोराछोरी पढाइदिन वा सानातिना जागीर मिलाइदिन अनुनय गर्ने बानी सबै नै पार्टीको छ । अब को कति चोखो छ भनेर हेरिरहनु परेन — गएको २५ वर्षमा नेपाली जनताले सबै पार्टीको खुट्टा कति दह्रो छ भनेर हेरिसके । पानी माथि कोही ओभानो छैन ।
नेपाल र भारत सयौं मात्र होइन हजारौं वर्षदेखिका छिमेकी हुन्, रहने छन् । नेपाली र भारतीय जनताका बिचमा कुनै तिक्तता छैन, हुनुपर्ने कारण पनि छैन । यदि समस्या कहीँ छ भने सत्ताका भोका नेताहरुमा छ जो सत्तामा जानलाई जनता उक्साउन जहिले पनि भारतलाई गब्बरसिंहको रुपमा प्रस्तुत गर्छन् र जनतालाई भारतविरुद्ध उक्साएर झ्यालबाट रमिता हेरेर बसेका हुन्छन् । जनतालाई भारत विरुद्ध उक्साउने पनि यिनीहरु, अनि जनता तात्तिए भनेर बार्गेनिङ गर्ने पनि यिनीहरु । यिनीहरुकै कारण भारत नदेखेका र नभोगेका नेपालीहरु भारत भन्ने वित्तिकै डरलाग्दो सपना नै हो कि भनेर नकारात्मक हुन थाल्छ । अनि यसको फाइदा तिनै देखिने र नदेखिने दुबै खालका लम्पसारवादी नेताहरुले नै लिन्छ । 
भारत देखाएर एक थरी नेताहरु नेपालमा राष्ट्रवादको सिक्का भजाइरहन्छन् । महाकाली नदीकै नाममा पार्टी फुटाउनेहरुकै थेगो भएको छ आज राष्ट्रवाद । जनतामा भारतविरुद्ध द्वेष रोपेर आफु चाहीँ राष्ट्रवादको कार्ड भारततिर फ्याँक्छन् र यसै बहानामा दुइचार दिन सत्ता लम्ब्याउँछन् यी नेताहरु । त्यसैले त सीमानाको रक्षा गर्न जनता घरघरबाट निस्कनुपर्ने हुन्छ र यसको परिणाम यस्तै हुन्छ, जुन नहुनुपर्ने हुन्छ । सीमाना भनेको जनता गएर हुल हुज्जत गर्ने ठाउँ होइन । नेपाल कुनै व्यवस्था नभएको प्रागइतिहासकालीन असभ्य कबिला राज्य होइन, जहाँ जनता आफै ढुँगामुढा लिएर सीमानामा सत्रुमाथि जाइलाग्छन् । 
भारत ठुलो हो । केही न केही गरिरहन्छ । यो भारतकै नीति हो वा कुनै अमुक प्रधान मन्त्री वा कुनै पार्टीको नीति हो । नोक्सान हामी भोगिरहन्छौं । नेपाली जनता हेपिएका छन्, सीमा क्षेत्रका नेपालीमाथि ज्यादती भएको छ, सीमा मिचिएका छन्, अब आएर नागरिक नै सीमापारिबाट गोली हानेर मारिएको खबर आएको छ । अन्य देशका सीमानामा भए यो दुई देशको युद्धको शुरुवात हो । यस्तो हुँदा पनि देशको राजाभन्दा पनि राजा भइखाएका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको बगाललाई एक थोपो लाज लगेन भने जनताको शिर झुकेरै के हुन्छ ? जनता आफै आन्दोलित भएपछि, सरकारलाई बोल्न बाध्य बनाइएपछि दुइलाईनको कर्मकाण्डी वक्तव्य दिने बाहेक सत्ताको बागडोर समातेर बसेको झुण्ड केही गर्न सक्दैनरहेछ भन्ने बुझ्ने मौका दिएको छ कञ्चनपुरको सीमा गोलीकाण्ड प्रकरणले । अनि यस्तो मौका पाउने बित्तिकै सात बित्ता उफ्रेर आन्दोलन गर्ने पार्टीहरुलाई पनि जनताले चिनेकै हो । 
हो, यो सब हामीले हेरिरहेका छौं । हामी जनताले यो हेर्नु बाहेक के गर्न सक्छौं ? आफ्नो भाषा, धर्म, संस्कृति र भूमिमाथिको अधिकारबाट समेत बंचित गराइएका हामी जनता यो सब हेरेर मात्र त बस्न चाहँदैनौं, तर हामी के गर्न सक्छौं? यो अहिले अहम् प्रश्न भएको छ । हठात् यो प्रश्नले सबै स्वाभिमानी नेपालीमो मथिङ्गल रिङ्गाएको छ । हिजो यो नसोचेको त थिएनौं होला, तर अहिले फेरि सोच्न बाध्य भएका छौं । हामी जनता, कर दाता मात्र हौं, कर तिर्छौं, सरकारमा जानचाहनेहरुमध्येबाट चुनेर पठाउँछौं र कोठामा बसेर माधव घिमिरे वा गोपाल योञ्जनका गीत गाएर बस्छौं । अरु के? 
संसारका सबै सार्वभौम राज्यहरुको जस्तै रक्षा मन्त्रालय छ, रक्षा मन्त्रालयको नेपालको आफ्नै सेना छ । बच्चा बच्चालाई थाहा छ सेनाको काम के हो भनेर । बच्चाहरु स्कुलमा चित्र लेख्छन् नेपालको सेनाले नेपालको रक्षा गरेको भनेर । यथार्थ भने यस्तो छ कि हामी बच्चाहरुलाई नेपालको सेनाले सीमाको रक्षा गर्दैन भनेर भन्न पनि सक्दैनौं । नेपालका सेना कस्ता छन् भन्ने टुँडिखेलमा गएर हेरे हुन्छ, १० वर्षे जनयुद्धमा जनताले प्रत्यक्ष देखिसके, मुखै फोडेर भनिरहनु पनि परेन ।
कुरा अब के गर्ने भन्ने आयो । नेपाल र भारतको बीचमा सीमा छ भने, नेपाल पनि भारत जस्तै सार्वभौमसम्पन्न राष्ट्र हो भने सीमानाको रक्षा गर्नु पर्छ कि पर्दैन? नेपाली जनता विदेशी जवानको गोलीले रुख जस्तै ढालिन्छ भने करैले उपप्रधानमन्त्री विमलेन्द्र निधि सिङ्गो देशको सार्वभौमको मू्ल्य १० लाख तिर्छु भन्छ, उसका लालाबालालाई सित्तैमा पढाउँछु भन्छ । झण्डावाल गाडीमा बस्नु भनेको केटाकेटी खेल्नु हो?
सीमानाको रक्षा अहिलेसम्म कसले गर्दैै आएको थियो भनेर अब जनता जान्न चाहन्छन् । हरेक वर्ष दिनमा फेरिने सरकारमा जानेहरुको जट्ठामा एकजना रक्षामन्त्रीको पद बोकेका पनि हुन्छन् । हालका परराष्ट्र मन्त्री प्रकाश शरण महत र रक्षा मन्त्री बालकृष्ण खाँडको काम के हो भनेर जनता थाहा पाउन चाहन्छन् । रक्षामन्त्री चढ्ने गाडीमा अहिले पनि तरुणदलकै अध्यक्ष मात्र चढ्छन् भने भैगयो । यदि रक्षा मन्त्री हो भने उसलाई थाहा पाउनुपर्ने हो नेपालको रक्षा अब पशुपतिनाथले गर्दैन भनेर । यदि नेपालको रक्षा मन्त्रालय आफ्ना् देशको सेना सीमानामा राख्न सक्दैन भने एक हुल कुकुर हरु सीमानामा पठाइदिए हुन्छ । शायद अब कुकुरहरुबाट नेपालको सीमानाको रक्षा हुन्छ ।

भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment